नेपाली भूमिमाथि भारत-चीनले मनलाग्दी गर्दा चुइँक्क बोल्न नसक्ने ओलीलाई कसरी राष्ट्रवादी भन्ने ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । पार्टीभित्रका विकृति–विसंगतिविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने स्वभावका कारण यदाकदा नेतृत्व पंक्ति उनीसँग असन्तुष्टसमेत हुने गरेका छन् ।

सम्भवतः यही स्वभावका कारण गत निर्वाचनमा उनले उम्मेदवारको टिकटसमेत पाएनन् । नहिच्किचाई आफ्ना कुरा राख्ने गुरुङले पछिल्ला राजनीतिक र समसामयिक घटनाक्रमलाई कसरी हेरिरहेका छन् त ? यसै विषयमा केन्द्रित रही न्युजकारोबारका रघुनाथ बजगाँईले गरेको कुराकानी :

नेपाली कांग्रेसले अझै धर्म सापेक्षतालाई छाड्न सकेको छैन, किन होला ?

नेपाली कांग्रेस स्थापनाकालदेखि नै धार्मिक स्वतन्त्रताको पक्षमा छ । कांग्रेसको चारतारे झण्डा हो । ती चार तारामध्ये एक तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो ।

जतिबेला पार्टी स्थापना भएको थियो, उत्तिखेरै धार्मिक स्वतन्त्रताको कल्पना गरिएको हो । ७० वर्षअगाडिको झण्डामै हामीले धार्मिक स्वतन्त्रताबारे कल्पना गर्यौं । अन्य तीन तारा वाक् तथा अभिव्यक्ति स्वतन्त्रता, भयबाट स्वतन्त्रता र गरिबीबाट स्वतन्त्रता भनेर आएका छौं । भनेपछि कांग्रेस कसरी धर्म सापेक्षताको पक्षमा हुन्छ ?

हामी प्रजातन्त्रवादी हाैं । प्रजातन्त्रवादी भएपछि सबै धर्मकाे सम्मान गर्छाैं । संविधानमै याे विषाय उल्लेख गरिएकाे छ । संविधानकाे धारा ४ मा राज्यकाे हकमा धर्म निरपेक्ष भनिएकाे छ ।

देश धार्मिक सापेक्ष नहुने भनिएकाे हाे, व्यक्तिकाे स्वतन्त्रता त छँदैछ । जसलाइर् जुन धर्म मान्न मन लाग्छ पाउँछ । फेरी सनातन भनेर पनि जाेडिएकै छ । राज्य अाफैं गएर मन्दिरमा घण्टी बजाउँदैन । मस्जितमा गएर कुरान पढ्दैन ।

गुम्बामा गएर माने घुमाउँदैन । त्यसैले राज्य सबै धर्मका लागि समान हाे । यसले सबै धर्मकाे संरक्षणा गर्छ । कांग्रेस झन् सैद्दान्तिक, वैचारिक रूपमा धार्मिक स्वतन्त्रताकाे पक्षमा प्रष्ट छ ।

”हामीसँग दृष्टि भएको तर दृष्टिकोण नभएको नेतृत्व छ । यसै कारण निर्वाचनमा हार बेहोर्नुपरेको हो । मैले कांग्रेसको मात्रै कुरा गरिरहेको छैन, दृष्टि भएको तर दृष्टिकोण नभएको नेतृत्वबाट पार्टी चल्न सक्दैन ।”

उसोभए हिन्दू धर्मको पक्षमा वकालत गर्ने कांग्रेसीले कांग्रेस बुझेका रहेनछन् । हेटौंडा भेलामा औपचारिक प्रस्ताव नै आएको छ । पार्टीका शीर्ष नेताहरुले यसको स्वागत र समर्थन गरेका छन् । यसको अर्थ के हो ?

साथीहरुलाई इतिहास थाहा नहुन पनि सक्छ । सबै कांग्रेसीले पार्टीको इतिहास बुझेका छन् भन्न सकिन्न तर सक्रिय कार्यकर्ताले कांग्रेस के हो भन्ने बुझ्नुपर्छ । चारतारे झण्डा कसरी अंगिकार गरियो । चारतारे झण्डाको अर्थ के हो भन्ने बुझ्नुपर्याे । तर पनि कसैले धर्म सापेक्ष हुनुपर्छ भने होलान् । यसमा विरोध गर्न आवश्यक छैन । समर्थन गर्नु पनि आवश्यक रहेन ।

पार्टीको एउटा खेमाले धर्मका कुरा उचाल्दै जनमत बटुल्ने र नेतृत्वमा कोइराला विरासत फर्काउने रणनीति बनाएको भन्ने पनि सुनिन्छ, के भन्नुहुन्छ ?

अहिले हामी मुख्य रुपमा कांग्रेस जोगाउने अभियानमा छौं । कांग्रेस यतिखेर क्षयीकरणबाट प्रताडित छ । र, त्यो क्षयीकरण रोक्नुपर्छ । क्षयीकरण रोक्नका लागि कुशल नेतृत्व चाहिन्छ । नेतृत्वमा धेरै कुरा भर पर्छ । अहिले नै विरासतबाट पूरा हुन्छ भन्ने मलाई लाग्दैन ।

यसो भन्दैमा कोइराला परिवारभित्र कुशल नेतृत्व नै जन्मेका छैनन् भन्न खोजेको होइन । तथापि, हामीले महाधिवेशन तत्काल गर्नुपर्छ भनेर आवाज उठाइरहेका छौं ।

यो कांग्रेसको हितका लागि हो । देश संघीयता कार्यान्वयनमा गइसक्यो, कांग्रेस एकात्मक छ । अझै एकात्मकमा बसेर हुँदैन । यसकारण युवा नेताहरुले महाधिवेशनको कुरालाई जोड दिएको हो । अबको नेतृत्व भिजन र मिसन भएको हुनुपर्छ ।

धर्मका कुरा उचाल्ने र जनमत बटुल्ने, विरासत जोगाउने भन्ने हवला पिटाइएको हो । हामीसँग दृष्टि भएको तर दृष्टिकोण नभएको नेतृत्व भएकै कारण निर्वाचनमा हार बेहोर्नुपरेको हो । कांग्रेसको मात्रै कुरा गरिरहेको छैन, म दृष्टि भा’को तर दृष्टिकोण नभएको नेतृत्वबाट पार्टी चल्न सक्दैन ।

भ्रातृ संस्थामा देउवा पक्ष कमजोर देखिएको छ । यसले अग्रिम महाधिवेशनको मागलाई बल पुगेकै छ । एकले अर्कोको खुलेरै उछित्तो काढ्ने तपाईंहरुको आन्तरिक लोकतन्त्र पनि गज्जबकै छ हैन ?

पार्टीभित्र अतिरञ्जित भएर जानु हुँदैन । पार्टी सबैको हो । त्यसकारण महाधिवेशन, भ्रातृ संस्थाका चुनावमा एकखालको प्रतिस्पर्धा हुँदैमा हार र जितको रुपमा बुझ्नु हुँदैन ।

अझै दुई खेमा, तीन खेमामा विभाजित भएर प्रतिस्पर्धा भएकै छन्, अब पनि हुन्छन् । यो परम्परा विगतदेखिकै हो । तथापि यो कांग्रेसभित्रको एक खालको रोग हो । गुट÷उपगुटमा विभाजित हुँदा कुशल नेतृत्व पछाडि पर्ने अवस्था आएका धेरै उदाहरण छन् ।

असक्षम व्यक्ति नेतृत्वमा पुग्दा पार्टीले धेरै ठाउँमा चुक्नुपरेको अनुभूति पनि हुन्छ । तर, यसलाई हामीले सहज रुपमै लिनुपर्ने हुन्छ । प्रजातान्त्रिक पार्टीले गरेको अभ्यासलाई अतिरञ्जित तवरले विश्लेषण गरेर पार्टीलाई थप क्षयीकरण हुन दिनुहुँदैन ।

प्रसंग बदलौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषय फेरि बहसमा ल्याउन खोजिएको छ । यो विषयमा कांग्रेस आफैँमा भने विभाजित छ, किन ?

हामीले धेरै लामो छलफल र मेहनत गरेर संविधान बनाएका छौं । संविधानसभाले सहमतीका आधारमा संविधान निर्माण गरेको हो । फेरि त्यस्तो सहमति भयो भने कांग्रेस तयार छ । संविधान संशोधन हुनै नसक्ने विषय होइन ।

बेलायतको जस्तो संसदीय व्यवस्था अवलम्बन गरेका छैनौं । अमेरिकामा पनि एक खालको अभ्यास छ । अब हामीले पनि मौलिक अभ्यास गर्न सक्छौं । तर, पहिले हाम्रो दायित्व भनेको जारी भएको संविधान कार्यान्वयन हो । संविधान शिलालेख त होइन । जनताले चाहेको खण्डमा यो संशोधन हुन सक्छ । संविधान निमार्णकै क्रममा यो विषय उठेकै थियो ।

अहिले नेकपामा एक अध्यक्ष (प्रचण्ड) ले उठाउनुभएको छ । यसलाई हामीले नौले रुपमा लिएका छैनौं । तर, अहिले हाम्रो ध्यान कुन–कुन धारा परिवर्तन गर्ने भन्नेतिर भन्दा जारी भएको संविधानको प्रभावकारी कार्यान्वयन गर्नु नै प्रमुख प्राथमिकतामा छ ।

”राष्ट्रवादी छविको हौवा पिट्ने प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुभयो, चीन जानुभयो । लिपुलेकको कुरा उठाउनु पर्दैन ? नेपालको भूमिमाथि दुई ठूला छिमेकीले मनलाग्दी गर्दा चुइँक्क बोल्न नसक्ने, अनि म राष्ट्रवादी नेता हुँ भन्ने ?”

कम्युस्टिका अगाडि कांग्रेस निकै कमजोर देखियो । प्रतिपक्षीय भूमिका निभाउनै नसकिरहेको जस्तो देखिन्छ, तपाईंलाई के लाग्छ ?

दुनियाँलाई थाहा भएको कुरा लुकाउन आवश्यक छैन । हाम्रो नेतृत्वमा प्रतिपक्षीम धकेलिइसक्दा पनि सत्तापक्षमै रहेको ह्याङ ओभरमा छ कि जस्तो मलाई लाग्छ ।

सरकारले नीति तथा कार्यक्रम ल्याउन । प्रतीपक्षी दलका सांसदहरु विरोध छ भन्दै मौन सर्मथन गर्छन् । यो त अहिले पनि सत्तापक्ष छौं भन्ने भानबाट मुक्त नभएको भन्ने भएन र ! एक जनाले पनि हुन्न भन्नुभएन ।

पार्टीले ह्वीप जारी गरेको थिएन भन्ने पनि जवाफ हुन्छ ? नेतृत्वले पनि ख्याल गर्नुपर्छ नि ! हुन्छ, हुँदैन भन्दा रनभुल्लमा पर्ने, के गर्ने के गर्ने थाहै भएन भन्ने पनि प्रतिपक्षका सांसद के भन्नु ?

संसदीय समिति गठनमा ढिलाइ भइरहेको छ । कांग्रेस यतातिर पनि मौन छ नी !

कांग्रेस र कम्युनिस्टको कुरा होइन । यसमा संसदमा रहेका सबै दल जिम्मेवार छन् । यसका सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षीमा रहेका दलहरु गम्भीर हुनुपर्छ । राज्यका लागि समितिहरु एकदमै महत्वपूर्ण हुन्छ । समितिहरु नहुँदा प्रधानन्यायाधीशको सिफारिस रोकिएको छ ।

सार्वजनिक सुनुवाइ समिति नहुँदा यस्तो अवस्था आएको हो । सत्तापक्ष र प्रतिपक्षी दुबैले यसमा नाटक मञ्चन गरिरहेका छन् । यो अब धेरै दिन चल्दैन ।

नेपालको विदेश नीतिमा पनि कांग्रेसले प्रश्न उठाइरहेको छ, किन ?

नेपाल स्वतन्त्र र सार्वभौम देश हो भन्ने वर्तमान सरकारले बुझेको छैन कि बुझ्दैन भन्ने प्रश्न हो यो । राष्ट्रवादी छविको हौवा पिट्ने प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुभयो, चीन जानुभो । लिपुलेकको कुरा उठाउनु पर्दैन ?

नेपालको भूमिमाथि दुई ठूला छिमेकीले मनलाग्दी गर्दा चुइँक्क बोल्न नसक्ने अनि म राष्ट्रवादी नेता हुँ भन्ने ? तत्कालीन सुशील कोइराला नेतृत्वमा सरकार भएका बेला भारत र चीनले नेपाललाई थाहै नदिई लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति गरे ।

तत्काल प्रधानमन्त्री कोइरालाले फोन गरेर नेपालको भूमिलाई व्यापारिक केन्द्र बनाउँदा नेपाललाई सहभागी गराउनुपर्दैन ? भनेर कुरा राख्नुभएको थियो । त्यसपछि कुनै प्रधानमन्त्रीले यो विषयलाई उठाएका छैनन् ? यसकारण नेपालको विदेश नीति होइन, हाम्रा नेतृत्वका नियत र क्षमता कमजोर भयो भन्ने हाम्रो बुझाइ हो ।

-साभार : न्युजकारोबार

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *