नेपाललाई विश्वस्तरीय शिक्षा केन्द्र बनाउन खोज्दा मैले हारें, अब देश छोडेर म गएँ: देश छोड्नुअघि श्रीरामले लेखे

नेपाललाई विश्वस्तरीय शिक्षा केन्द्र बनाउन खोज्दा मैले हारें, अब देश छोडेर म गएँ: देश छोड्नुअघि श्रीरामले लेखे

डा श्रीरामभगत माथे धेरैले नसुनेको नाम हुनसक्छ। उनी नेता होइनन्। प्रचारमा आइरहने कुनै सार्वजनिक पात्र पनि होइनन्। त्यो उनको रहर पनि भएन। लो-प्रोइफाइलमा रहेर काम गर्न रुचाउने माथे शिक्षा क्षेत्रमा समर्पित एउटा प्राज्ञिक व्यक्तित्व हुन् । माथे त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ संस्थानका पूर्वडिनसमेत हुन्। सेन्ट जेभियर्सलगायत चर्चित कलेजको अध्यक्ष तथा प्रिन्सिपलका रूपमा पनि काम गरेका थिए।

झण्डै १८ वर्ष उनले विदेशमा काम गरे, खासगरी कम्बोडियामा। पैसा, पोजिसन सबै कमाए। उनलाई नपुग्दो केही थिएन। तर, मनमा सधैं एउटै खसखस हुन्थ्यो, स्वदेशमा गएर केही गर्न सकिएन। झण्डै तीन वर्षअघि उनले अठोट गरे, अब मातृभूमिमा फर्केर गएर केही गर्ने। अनि, उनी एउटा सपना बोकेर स्वदेश फर्किए।

अन्तर्राष्ट्रिय मापदण्डको सगरमाथा विश्वविद्यालय खोल्ने उनको सपना थियो। नेपालमा पनि विश्वस्तरको उत्कृष्ट उच्च शिक्षा हुन्छ भन्ने दुनियाँलाई सन्देश दिने उनको धोको थियो। त्यसलाई गुणस्तरीय र व्यावसायिक शिक्षाको एउटा नमूना गन्तव्य बनाउन चाहन्थे उनी।

स्वदेश फर्केकै दिनदेखि उनले पहल थाले। शिक्षामा काम गर्ने सरकारी र निजी क्षेत्रका धेरैलाई भेटे। चरण-चरणमा छलफल र बैठक गरे। आफ्नो अवधारणा, अठोट र सपना सबैलाई सुनाए। त्रिभुवन विश्वविद्यालयका अधिकारीसँग कति पटक मिटिङ गरे। नेताहरूकहाँ पनि दौडधूप गरे। कसैले हुन्न भनेनन् तर उनले सहयोग र साथ पाएनन्।

कुनै न कुनै बहानामा अड्काउने, अल्मल्याउने धेरै भेटिए। परिवर्तन हुन नचाहने यथास्थितिवादी प्रवृत्ति, भ्रष्ट मानसिकता, नयाँ कामलाई प्रोत्साहन गर्न नाचाहने संकीर्ण स्वभाव र संस्कार, जेमा पनि राजनीति घुसाउन खोज्ने फोहोरी परम्पराबाट उनी हैरान भए। अन्ततः उनी आफ्नो सपनाबाट निराश भए।

उनले एउटा निर्मम निर्णय गरे, फेरि मातृभूमि छोड्ने। २६ साउनमा उनी फेरि कम्बोडिया फर्केका छन्। त्यहाँ उनले एसियाली विकास बैंकको परियोजनामा टिम लिडरको रूपमा काम गर्नेछन्। जानुअघि उनले केही साथीलाई ग्रुप मेल गरेर आफूले फेरि स्वदेश छोड्नुको कारण खुलाएका छन् । उनले साथीहरूसँग फोनमा भनेका थिए, ‘मैले धेरै प्रयास गरे तर मैले हारें, म गएँ।

जानुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा मार्मिक स्ट्याटस पनि राखेका छन्। जहाँ उनको मातृभूमिप्रति मायासँगै यहाँ हावी भएको विकृत मानसिकता र फोहोरी राजनीतिक संस्कारमाथि निकै कडा प्रहार गरेका छन्।

श्रीरामलाई नजिकबाट चिन्‍ने पूर्वाधारविद् डा. सूर्यराज आचार्य भन्छन्, ‘यहाँ केही गर्छु भन्ने आत्मविश्वास लिएर फर्केका श्रीराम जस्ता व्यक्ति निरास भएर फेरि विदेश फर्किनु दुभाग्र्यपूर्ण हो । यसले सरकाकरको समृद्धि र विकासको अभियानलाई समेत ब्यंग्य गरेको छ ।’ उनी भन्छन्, ‘समृद्धि तथा विकासको अभियानलाई सार्थन तुल्याउन विदेशमा रहेका श्रीरामजस्ता अरु विज्ञहरुलाई यहाँ झिकाउनुपर्ने बोलाउनुपर्ने बेला यहाँ फर्केकाहरु प्नि अडिन नसक्नु लाजमर्दो हो ।’

माथेको अभियानबाट प्रभावित भएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले भने, ‘यहाँ केही गर्छु भनेर स्वदेश फर्केका श्रीरामजस्ता व्यक्तित्वहरू यहाँ अडिन नसक्नु र निराश हुनु डरलाग्दो संकेत हो। यसले हामी यहाँ कस्तो वातावरण विकास गर्दैछौं, त्यसलाई संकेत गर्छ। उनको प्रश्न थियो, केही गर्छु भनेर स्वदेश फर्किएको नेपालीको हालत त यस्तो हुन्छ भने यहाँ लगानी गर्न आउनेहरूको अवस्था कस्तो होला?

उनले राखेको स्ट्याटसमा महत्वपूर्ण सन्देश समावेश भएको र त्यो सार्वजनिक सरोकारको विषय हुनुपर्ने ठानेर हामीले माथेको स्ट्याटसलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौं।

हाम्रो मुलुकका नेतृत्व वर्ग एवं निजामती कर्मचारीतन्त्र नयाँ-नयाँ अवसरका ढोकाहरू बन्द गर्न निपूण छन्। विस्मयकै विषय रहेन, गत वर्ष मात्रै २० हजारभन्दा बढी युवा-युवती उच्च शिक्षा अध्ययनका लागि भारत प्रस्थान गरेका छन् भने सोही उद्देश्यका निमित्त अन्य मुलुक जाने झण्डौ ७० हजारले ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिएका छन्। हामी चकित हुनुपर्ने कारणै छैन किनकि हामीजत्तिका मान्छे विदेशिनुपरेको छ। किनभने, अन्य मुलुकले हाम्रा ज्ञान, सीप, अनुभव, तदारुकता र लगनशीलतालाई हाम्रो आफ्नै मुलुकले भन्दा बढी मूल्य र प्राथमिकताका साथ कदर गर्न जानेका छन्।

यो पोस्ट(उद्गार)मार्फत् हाम्रा प्रधानमन्त्री, मन्त्रीगण, राजनेताहरू एवं राष्ट्र सेवक कर्मचारीसमक्ष के अनुरोध गर्न चाहन्छु भने हाम्रा उद्यमशील युवा नागरिकहरू तथा मजस्ता व्यक्तिहरूलाई तिनले चाहेका क्षेत्रमा निर्वाध उन्नतिका निमित्त सहजता प्रदान गर्न नेपालमा व्याप्त अनावश्यक प्रशासकीय झमेला एवं ढिलासुस्तीका बन्द रहेका द्वारहरू खोलिदिनोस् । ताकि, हामी स्वदेशमै उन्नतिका उपाय खोज्दै राष्ट्रको सेवा पनि गर्न सकौं।

कृपया, हामीलाई हामी के गर्न सक्दैनौ होइन, के गर्न सक्छौ भनेर भनिदिनोस्। यो मुलुकमा बस्नै गाह्रो छ, हाम्रा सपनाहरू हामी यहाँबाट हासिल गर्न सक्दैनौं। हामीलाई आफ्नो मुलुक एक महान मुलुकका रूपमा विकास गर्नका निमित्त हाम्रा सीपहरूको योगदान दिन पाउने अधिकार नभएजस्तो गरी हत्तोत्साहीपूर्ण ढंगले हाम्रा प्रगतिपथका ढोकाहरू निर्मम ढंगले बन्द गर्नुको साटो द्रुततर गतिमा अगाडि बढ्ने सहज मार्गहरू खोलिदिनुहोस्। हाम्रा नदीनालाका बहुमूल्य जलसम्पदा भारत हुँदै महासागरसम्म व्यर्थ बगेर गएभन्दा बढी प्रतिभा पलायनको स्थिति विकराल बन्दै गएको छ।

हामीलाई दूरदर्शी प्रतिभावान् नेतृत्वको खाँचो छ, जसले आफ्ना परिवार, इष्टमित्र एवं दलगत स्वार्थभन्दा माथि उठेर मुलुकको समष्टिगत स्वार्थलाई सर्वोपरी ठान्छ।

कुनै अन्तर्कृयात्मक कार्यक्रममा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले भन्नु भएजस्तै हामीलाई आगामी निर्वाचन जसरी भए पनि जित्नका लागि जनतामाझ लोकप्रिय नीतिहरू मात्रै पेश गर्ने धेरै लोकप्रिय नेतृत्व पनि चाहिएको होइन।

मलगायत धेरै देशभक्तहरू यो मुलुकमा दूरदर्शी नेतृत्व चाहन्छन्, जुन नेतृत्वले यो मुलुकका हितका निमित्त अत्यावश्यक दीर्घकालीन नीतिहरू निर्माण गरी त्यसको अमल गर्न सक्षम हुन्छन्। यदि आफ्नो मुलुकप्रति उच्च कोटीको श्रद्धा र जनताप्रति उत्कृष्ट आस्था एवं सद्भाव छ भने वर्तमान प्रधानमन्त्री ओली नै ती व्यक्ति हुन सक्छन्। तर, निहित स्वार्थवश अनावश्यक दलाली गर्न घेरा हालेर बसेका व्यक्ति र प्रवृत्तिको कुत्सित पर्खाललाई उनले तोड्न सक्नुपर्छ। आफूलाई सर्वोत्कृष्ट राजनेता प्रमाणित गरेर जनताको विश्वास जिती एउटा इतिहास निर्माण गर्ने स्वर्णिम अवसर उपलब्ध छ।

म निजी क्षेत्रबाट एउटा प्रतिष्ठित विश्वविद्यालय (सगरमाथा विश्वविद्यालय) स्थापना गर्ने मेरो सपना नेपालमै छाडेर जाँदैछु। मैले म आफैंलाई बारम्बार यो प्रश्न सोध्छु कि कतै यो मेरो सपना सपनामै सीमित त हुँदैन? म मर्दा मेरो चितासँगै मेरो सपना साथै जाने त होइन? १८ वर्षभन्दा बढी विदेशमा बिताएर पनि मैले यो तीन वर्षे अवधिमा धेरै उपायका बाटा धेरै ठाउँमा खोजेको छु। यसरी निराश भएर मेरो देश छाडेको यो पहिले दिन म यो सन्देश लेखिरहेको छु।

मैले एसियाली विकास बैंकद्वारा वित्तीय सहयोग प्राप्त उच्च माध्यमिक विद्यालय शिक्षा परियोजनाअन्तर्गत ६ वटा शिक्षा प्राविधिक एवं रोजगारमुलुक शिक्षा कार्यक्रमका लागि टोली नायक भएर काम गरेको छु।

कम्बोडियाली सरकारले मेरो कामको मूल्यांकन गरी कदरस्वरूप दुई प्रतिष्ठित पदबाट विभुषित पनि गरेको छ। त्यसको अलावा मलाई पुन: कम्बोडियामै आएर काम गर्ने नयाँ अवसर पनि प्रदान गरेको छ। म मेरो सपना बचाउन तीन वर्षपछि कम्बोडिया फर्किरहेको छु।

हाम्रो नेतृत्वले हामी स्वदेश फर्किएर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ अन्यथा अरू धेरै युवायुवती अध्ययनका लागि र मजस्ता मान्छे रोजगारीका लागि विदेशिनुपर्छ।

कृपया यो पोस्टिङ धेरैभन्दा धेरै परिवार, आफन्त र इष्टमित्रहरू सबैलाई पठाइदिनु होला ता कि यो सन्देश प्रधानमन्त्रीसम्म पुगोस् र यो मुलुक समृद्ध बनाउन प्रतिभा पलायनलाई रोक्न सकियोस्। (नेपालसमयबाट )

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *