दुई वर्षकै उमेरमा बुबा गुमाएका डा केसीको ८२ वर्षीया आमा के भन्छिन्, हेर्नुहोस

दुई वर्षकै उमेरमा बुबा गुमाएका डा केसीको ८२ वर्षीया आमा के भन्छिन् पढौं- २४ दिनदेखि डा गोविन्द केसी अन्न न पानी छन्।

चिकित्सा शिक्षासँग जोडिएका ७ वटा जनसवाल पूरा गराउन उनले भोकप्यास खपेर गरिरहेको आन्दोलनलाई चल्तीको भाषामा अनसन भनिएको छ। डा केसीकी ८२ वर्षीया आमा मित्रकुमारी भने अनसन शब्दसँग त्यति सहज भइसकेकी छैनन्। उनलाई यत्ति थाहा छ– गरिबका छोराछोरी डाक्टर बनुन् भनेर उनको छोरा खानापानी नखाई बसेका छन्।

आइतबार मात्रै अनसनले गलाएको छोराको रुग्ण शरीर देखेर आएकी मित्रकुमारी सोमबार दिउँसो घरमा एकोहोरिएर पल्टिरहेकी थिइन्। डा केसीको रेखदेखमा समेत खटिरहेका उनकै भतिजा किशोरले उनलाई कोही उनीसँग डा केसीका बारेमा कुराकानी गर्न आएको संकेत दिए।

एकछिन अघिसम्म सुक्दै गरेको कर्कलाको डाँठजस्तै गरी ओछ्यानमा लडेकी उनी उक्त संकेत पाउने बित्तिकै सयपत्री जस्तै फक्रिइन्। छोराको अवस्थाले छातीमा गएको पहिरो थामेर मुस्कुराइन्। झरी रोकिएर घाम लागेको दिनजस्तै देखियो उनको अनुहार। उज्यालो, चम्किलो।

हामीले उनका अघि भिडियो क्यामेरा सोझ्यायौं, उनी झन् खुल्दै गइन्। कुनै समय छोरा भोकैप्यासै बसेको कुरा गर्दा उनको आँखामा झरी पर्थ्यो, पीरले। तर, अचेल ओठमा वसन्त फुलाउँदी रहिछन्, गर्वले।

हो, उनलाई गर्व लाग्छ, डा गोविन्द केसी आफ्नो छोरा भएकोमा। त्योभन्दा बढी गर्व लाग्छ, दुनियाँका छोराछोरीका लागि आफ्नो छोरा मर्न तयार भएकोमा। गर्वसाथ भनिन्,’हाम्रा बाउबाजेको सम्पत्तिले सबैलाई पढाउन पुग्दैनथ्यो। ऊ आफू भोको बसेर संसारलाई राम्रो गर्न लागेको छ। आफू मरेर अर्को बाँचोस् भनेर यस्तो गरेको होला जस्तो लाग्छ।’ केसी जन्मिनेबित्तिकै पण्डितले मित्रकुमारीलाई भनेका रहेछन्–

यो भाग्यमानी छ। सब्बैको मान्यगुन्य हुन्छ। मित्रकुमारीलाई त्यो बेला लाग्थ्यो– कुनाकन्दरामा जन्मेको मान्छे कसरी पो होला र त्यस्तो? अहिले भन्छिन्, ‘ती पण्डित जान्ने नै रहेछन्। संसारले चिन्ने मान्छे भयो त मेरो छोरो।’ दुई वर्षको उमेरदेखि उनीबाट टाढा छन् डा केसी। केसी दुई वर्षका हुँदा मित्रकुमारीका बुबाको निधन भयो।

उनकी आमा रुन थालिछन्। दुईवर्षे केसीले सम्झाएछन्, ‘हजुरआमा किन रुनुभएको? मसँग दुई रुपैयाँ छ, सारी र चोलो किनिदिन्छु।’ बुबाको मृत्यु भएपछि एक्ली आमाका लागि दुईवर्षे केसीलाई साथी छाडेर आइन् माइतीमै। डा केसी मामाघरमै हुर्के, बढे र पढे। केही वर्षपछि मित्रकुमारी बिरामी भएर उपचार गराउन आइन् काठमाडौं।

आमाको अवस्था हेरेपछि डा केसीले भनेछन्, ‘म पछि डाक्टरी नै पढ्छु।’ केसी चिकित्सा पढ्न गए। त्यसपछि सेवामा खटिए। आमासँग एक महिना लामो समय बस्ने फुर्सद कहिल्यै पाएनन्।

त्यसैले अहिले पनि मित्रकुमारी गुनासो गर्छिन्, ‘दुई वर्षको उमेरपछि मसँग एक महिना पनि बसेको छैन।’ मित्रकुमारीलाई डा केसी बाल्यकालका बानीबेहोराका बारेमा सोध्यौं। मावलीमा हुर्केकाले त्यति थाहा नभएको बताइन्। ‘उमेरमा बिहेबारीका कुरा गर्नुभएन?’

भनेर पनि जिज्ञासा राख्यौं। केसीकी हजुरआमाले एकपल्ट बिहेको कुरा निकाल्दा डा केसीले दिएको जवाफ जस्ताको त्यस्तै सुनाइन्। डा केसीले भनेका रहेछन्, ‘बिहे गर्यो भने मेरो मुटुमा घाउ निस्किन्छ। म विदेशिन्छु। तपाईं मलाई छोरो भन्न पाउनुहुन्न।’ त्यसपछि कसैले कहिल्यै डा केसीसँग बिहेका विषयमा कुरा गरेनन्।

आफ्नो छोरा दुनियाँको राम्राका लागि संघर्ष गरिरहे पनि सरकारले नसुनेकोमा उनलाई केही भन्नु छैन। उनलाई लाग्छ, ‘सरकार भनेको कान र हृदय नभएको मान्छे हो।’ कान र हृदय भएको भए अरुलाई सुख र राम्रो होला भनेर लडिरहेको मान्छेलाई दुःख दिँदैनथ्यो होला भन्ने उनको मनमा खेलिरहन्छ।

अन्तिममा उनले आफ्नो मनको भाव यसरी पोखिन्, ‘सरकारले सुन्दिएदेखि छोराले खान्थ्यो। मलाई जस्तै उसलाई पनि खान मन लाग्छ होला।’ थपिन्, ‘अरु नभए पनि पानी त खान्थ्यो! आजसम्म कति तिर्खा लाग्यो होला उसलाई?’ ( डीबी खड्का नेपाल लाईभ)

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *