तीजको दर खादा साढे ३ सय जना बिरामी

काभ्रे

तीजको दर खाँदा पाँचखाल–१२ कास्कोटेमा करिब साढे तीनसय जना बिरामी परेका छन् । स्थानीय ग्रामीण स्वावलम्बी बहुउद्धेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रमा दर खाएका साढे तीन सय जना बिरामी परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

आयोजकले प्रहरीलाई दिएको जानकारी अनुसार करिब ४ सय जनाले दर खाएकोमा ९० प्रतिशत बिरामी परेका छन्। गिरीका अनुसार १ सय ८० जनालाई प्रहरी, नगरपालिका र स्थानीयको सहयोगमा धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल, पाँचखालस्थित प्राथमिक स्वाथ्य चौकी र स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

जिल्लाका अस्पताल भरिभराउ भएपछि बिरामीहरुलाई परिवारका सदस्यको सहयोगमा काठमाडौं लगायतका अस्पतालमा लगिएको छ। स्थान अभावमा भुईँमा नै राखेर उपचार भइरहेको छ।

पाँचखाल नगरपालिकाले स्थानीय जनभावना प्राविमा स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख महेश खरेलले जानकारी दिए। धुलिखेल अस्पतालले पनि प्राविधिक सहयोग गरेको छ।

घटनास्थलमा नै रहेका प्रमुख खरेलका अनुसार, केराउको अचार खाएकाहरु बिरामी परेका छन्। प्रहरीले कार्यक्रमस्थलमा बाँकी रहेको खानेकुराको नमूना संकलन गरेका छ। प्रयोगशाला परीक्षण पछि मात्रै यसै भन्न सकिने प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

Add Comment