गगन थापा : एक्लो बृहस्पति

धनराज गिरि

सामाजिक रुपान्तरण ख्यालठट्टा होइन र होइन दुई दिनको कुरामा पनि । गफ हाँक्न र आदर्श छाँट्न जसलाई पनि आउँछ र व्यवहारमा उतार्न परेमा कसैलाई पनि सरल हुँदैन । सिद्धान्त आफैंमा एउटा साधन हो, साध्य होइन । चितवनमा यतिखेर एउटा प्रयोग भइरहेको छ । विभिन्न प्रयोगहरु भए, गए ।

एक युवा विचारक र लेखक जीवन क्षेत्रीभित्रको अर्को मान्छे चेतनाको दियो लिएर क्याफे डबली सञ्चालन गरिरहेछन् । बेला मौकामा म पनि पुग्दछु । जीवन मलाई माया गर्छन् । २०७५ साल असार ८ गते शनिबार ४ बजे निम्तो पनि पाएँ । साढे तीनमा पुगें म । माननीय गगन थापा आउनुभएको रहेछ । हाम्रो पहिलो मिलन । म आफ्नै शैलीमा प्रकट भएँ । एकजना युवा कांग्रेसी कार्यकर्ता टाँडी क्याम्पसको कुरा निकाल्न खोज्दै थिए, मैले मौन रहने संकेत गरें ।

हाम्रो समाज विचित्रको छ । एउटा आफ्नै उदाहरण : भाइ टीकाराम गिरी, पर्यटन व्यवसायी, चराविद्, एक सफल नागरिक, इमानदार पनि । उसले एकदिन सम्झायो, ‘धनराज दाइ, साहित्यमा रमाउनुभयो, हजुरको दिमागअनुसार यदि अर्थोपार्जनतिर मन लगाएको भए अरबपति हुने । अर्को उदाहरण एकजना वृद्ध अभिभावक भेट भए, बोले ( धनराज सर, हजुरको बुद्धि देख्दा ठूलो मान्छे बन्नुहुन्छ, चार पाँच तले महलमा बस्नुहुन्छ र हरर पजेरो चढ्नुहुन्छ जस्तो लागेको थियो ।’

यसबाट के धारणा बनाउने ? जसरी भएपनि धन कमाउनै पर्छ, छोरो ‘लक्ष्मीपति’ र म नामले ‘धनराज’ मात्र भएर भएन । यो ‘जसरी पनि’ ले मलाई अत्यायो । अनि ‘अवाम’ हिन्दी सिनेमाको एउटा खलनायकीय डायलग सम्झिएँ ‘इमानदार आदमी सहिद तो बन सकता है, लेकिन अमीर कभी नहि ।’ अनि मेरो मनले प्रश्न ग¥यो, ‘के पैसा मात्रै सफलताको मापदण्ड हो ? धनी को हो ? कति पैसा भए पुग्छ ?’ यस्तै यस्तै । गगन थापालाई स्पस्टरुपमा भनें, ‘गगनजी, दलको होइन तपाईं देशको नेता बन्नुहोस् । देश नायकविहीन छ ।’ अदम्य साहस छ, योजना छ, अनुहार र आँखामा छलकपट छैन । प्रभावकारी छ प्रस्तुति । तर, उनी अर्जेन्टिना र मेस्सी मेरो मनले सोच्यो । भनें, ‘गगनजी भ्रष्टाचार संस्थागत भएको छ । सजिलो छैन । हरेक पात्र भ्रष्ट छ । यस्तो लाग्छ यो देशमा सजीव त के निर्जीव पनि भ्रष्ट लाग्छ ।

एक्लै कसले के गर्ने ? साथ चाहिन्छ । तपाईं एक्लो वृहस्पति झुटा त होइन नि ?’ मैले यसो भन्दा मुसुक्क हाँस्नुभयो युवा नेता ।
किताब त्यति पढ्ने बानी जस्तो लागेन । शारदा शर्माको त्यो समय पढ्नुभएको रहेनछ । मात्र एक दुई साहित्यिक किताबको लिनुभयो उहाँले ।

कांग्रेस किन यो हालतमा आयो ? गगनजीलाई प्रष्ट रहेछ । मैले यसमा धेरै टाउको दुखाइनँ । ‘पच्चीस वर्ष प्रमुख प्रतिपक्ष हुन परेपनि तयार’, गगनजी बोल्नुभयो । पराजयको अवसाद कत्तिपनि अनुभूत गरिनँ । असल चारतारे सुखी छन् । यति त हुनै परेको थियो । सबक ! उदय अधिकारी, सरिता तिवारी, माधव पौडेल, कपिल ज्ञवाली, विजय सुवेदी, गौरव खतिवडा आदिले राम्रा प्रश्नहरु राखे । उत्तर पनि राम्रै आयो ।

जीवन क्षेत्रीको सहजीकरण प्रभावकारी । यस्तो लाग्यो समकालीन विश्व राजनीति, आर्थिक, सामाजिक सन्तुलनका बारेमा जीवनको अध्ययनको दायरा निकै फराकिलो छ । सामाजिक अभियन्ता बन्न खोज्नेले संसार बुझ्नुपर्दछ । हामीले जस्तो रदिफ र काफिया अनि परीक्षामा सोधिने प्रश्नहरुको उत्तर जानेर मात्र विद्वान हुने होइन । विजय सुवेदीजीले बडो इमानदार र जिम्मेवार नागरिक भएर आफ्नो कुरा राख्नुभयो । गगनजीले केही घतलाग्दा कुराहरू उठाउनुभयो । वास्तवमा सान्दाजु, सान्दाजु भनेर जति नाम जपेपनि कांग्रेसी मित्रहरुले सान्दाजुलाई राम्रोसित नबुझे झैं लाग्यो । २००७ साल, २०१५ साल र २०३७ सालतिरका सान्दाजुका आफ्नै विचारहरुमा परिवर्तन आएको छ । गत्यात्मक हुन्छ दुनियाँ । तर, योजना बनाउँदा सीमान्त नागरिकलाई मनमा राखेर राष्ट्रिय आम्दानी वितरण गरिनुपर्छ । अक्षरशः समानता कतै पनि सम्भव छैन । सामाजिक न्याय सम्भव हुन्छ ।

प्रकृतिमा विविधता भएझैं मानिसमा पनि विविधता हुन्छ । क्षमताअनुसारको अवसर सबैले पाउनुपर्दछ । काम–भगवान । अनेक मुलुकको प्रगतिका बारेमा जानकारी दिएर जानुभयो थापाजी । समस्या मात्र थाहा छैन, समाधान पनि थाहा छ । मौका पाएमा गगनजीबाट केही हुने सम्भावना छ, जसरी मबाट गजल लेखिने सम्भावना छ । म भन्ने गर्दछु, ‘कमजोरभन्दा कमजोर विद्यार्थीको पनि हृदयमा बत्ती बालेर सिक्न प्रेरित गर्ने र सिकाएरै छाड्ने गुरु नै सफल र उत्तम गुरु हुन् ।’ त्यसैगरी त्यही परिवर्तन सार्थक परिवर्तन हो जसले भुइँ मान्छेलाई सम्बोधन गर्दछ । आजको दस वर्षमा एउटा मुसहरको सन्तान, उदाहरणको लागी प्रोफेसर, डाक्टर, साहित्यकार यस्तै यस्तै केही बन्न पुगेछ भने मात्र केही भयो, होईन भने केही कोइराला, केही नेपाल, केही खनाल, केही दाहाल, केही शाक्य र ओलि, केही वाग्ले आदि इत्यादिको मात्रै दिन आउने हो भने गणतन्त्र पनि मुठ्ठीभरका लागि आएको रहेछ भनेमा के फरक पर्ला ?

आफ्नो ठाउँका बारेमा आफूले पढाएका चेलाचेलीका बारेमा पनि जानकारी दिएँ । चतुर र सफल मात्रै होइन चेतनापुञ्ज नै बनिसकेको मेरो शिष्य वासु ढुंगानाका बारेमा बताएँ । थापाजीसित चिनाजानी रहेछ । नेता त्यसै हुने होइन । नेता भनेपछि फटाहा र भ्रष्ट मान्ने संस्कार पनि गलत हो । खराबको घेरा । यो कुरा पनि राखियो । यो दल, ऊ दल, केही होइन । हरेक दलका ‘गगन थापाहरु’ एक भएर ‘मिसन राष्ट्र निर्माण’ भनेर लाग्नुपर्दछ । अब आम नागरिक रुख गन्दैन, आँप खान्छ । यो युगमा युग सापेक्ष शिक्षा दिनुपर्छ । भारत र चीनलाई समानदुरीमा राखेर उनीहरुबाट फाइदा लिन सिक्नुपर्दछ । अध्ययन चाहियो । विशेषज्ञ चाहियो ।

हाम्रो लागि विकासको मोडेल हामी आफैले बनाउने हो । यस्ता केही महत्वपूर्ण कुराहरु राखी नागरिक समाजलाई जागरुक रहन अपिल गर्दै थापाजीले हामीसित दुई घन्टा रमाइलो गर्नुभयो ।

kaayakarandaily बाट

Add Comment