किशोर श्रेष्ठले प्रेस काउन्सिललाई व्यक्तिगत स्वार्थमा उभ्याए : सञ्चार-आबद्ध संस्थाहरू

‘प्रेस काउन्सिलको कदमले काउन्सिलकै अभ्यासहरुलाई खण्डित गर्ने चिन्ता’

काठमाडौँ । सञ्चार सम्बद्ध विभिन्न संस्थाहरुहले प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई व्यक्तिगत स्वार्थमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनले प्रेस काउन्सिल नेपालकालाई लिएर पछिल्लो समय भइरहेका टीकाटिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भइरहेको जनाएको छ । सञ्चार क्षेत्रसँग सम्बन्धित अर्ध न्यायिक निकायको रुपमा रहेको प्रेस काउन्सिल इतिहासमै सबैभन्दा बढी विवादमा तानिएको घटनाहरु नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि सुखद विषय नरहेको युनियनको भनाइ छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता नेपाली जनमत नै बाँडिने गरी प्रेस काउन्सिलको पक्ष र विपक्षमा आइरहेका अभिव्यक्ति र टिप्पणीहरुले हामीलाई गम्भिर बनाएको छ। त्यसको प्रतिक्रियामा काउन्सिलका तर्फबाट चालिएका कदमहरुले पनि विगतमा काउन्सिलकै तर्फबाट भए गरिएका अभ्यासहरुलाई खण्डित गर्ने चिन्ता हामीलाई भएको छ।’

यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गरी सामाजिक सञ्जालमा विभिन्न व्यक्ति वा पत्रकारबाट आएका टिकाटिप्पणी उपर साइबर अपराधको मुद्धा लगाउने कार्य भईरहेको प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रेस युनियन सुनसरी, प्रेस चौतारी सुनसरी, प्रेस सेन्टर नेपाल सुनसरीले बताएका छन्।

‘नेपाली पत्रकारिताको अर्धन्यायिक नियामक निकायका रुपमा रहेको प्रेस काउन्सिल नेपाल नेपाली सञ्चार क्षेत्रको अभिभावक संस्था पनि हो,’ नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष गणेश निरौला, प्रेस चौतारी सुनसरीका अध्यक्ष शेखर ढकाल तथा प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष श्रीशीशा राईद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस संस्थाले नेपाली पत्रकारिता क्षेत्रलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन विगतदेखि खेल्दै आएको भूमिका सह्राहनिय छ ।

तर यति जिम्मेवार संस्था कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठद्धारा व्यक्तिगत प्रयोजनमा प्रयोग हुनु अत्यन्तै दुखद छ ।’

हेर्नुहोस्- महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिको सार जस्ताको तस्तै :

प्रेस काउन्सिल नेपालसँग जोडिएर सार्वजनिक भइरहेका पछिल्ला घटनाक्रमहरुलाई नेपाल प्रेस युनियनले गम्भिरतापूर्वक नियालिरहेको छ। सञ्चार क्षेत्रसँग सम्वन्धित अर्ध न्यायिक निकायको रुपमा रहेको प्रेस काउन्सिल इतिहासमै सबैभन्दा बढी बिबादमा तानिएको घटनाहरु नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि सुखद बिषय हैन। यहि बीचमा आम नागरिक तहमा समेत प्रेस काउन्सिलका बारेमा अनेक भ्रम सिर्जना हुने दुखद अवस्था समेत बनेको छ।

।।।।।।।।।।

सुन तस्करीका लगानीकर्ता अग्रवालको घरमा छापा, भेटिए महत्वपूर्ण प्रमाणहरु

काठमाडौं– सुन तस्करीका मुख्य लगानीकर्ता ठानिएका मोहन अग्रवाल (एमके) को घरमा छापा हानी प्रहरीले तस्करीका थप महत्वपूर्ण विवरणहरु बरामद गरेको छ। जसबाट तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको विशेष छानबिन समितिले जनाएको छ।

‘उनको घरबाट दर्जनौं बैंकका चेकबुकहरु बरामद भएका छन्,’ छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले नेपाल लाइभसँग भने, ‘कम्प्युटर र कागजपत्रहरु समेत बरामद भएको छ, जसबाट तस्करीका अन्य नाइकेहरुको संलग्नता खुल्ने अपेक्षा गरेका छौं।’

सहसचिव पौडेलका अनुसार ३० लाख रुपैयाँभन्दा धेरै नगद, केही थान सुनका बिस्कुट, सुनका गहना, एउटा गाडी अग्रवालको घरबाट बरामद भएको छ। अग्रवाल तस्करीका मुख्य लगानीकर्ता हुन्। भारतीय गिरोहसँग मिलेर उनले सुन तस्करीमा करोडौं लगानी गरेका थिए।

३८ सय केजी सुन तस्करीको अनुसन्धान सुरु भएलगत्तै अग्रवाल भारत भागेका थिए। उनको घरमा २ महिनादेखि ताला लागेको थियो। घरमा २ महिनायता प्रहरीले निगरानी गरे पनि उनी नआएपछि छापा हानिएको स्रोत बताउँछ।

अनुसन्धानको क्रममा विमानस्थलबाट तस्करी हुने सुनमा सबैभन्दा धेरै लगानी अग्रवालको हुने गरेको थियो। उनको गिरोहमा कोको थिए भन्ने कुरा उनको बैंकिङ कारोबार र कम्प्युटरमा रहेका विवरणबाट प्राप्त हुने छानबिन समितिको अपेक्षा छ। त्यसबाट ‘ठूला माछा’ भनिएका अन्य व्यक्तिहरु पक्राउ पर्ने सम्भावना रहेको स्रोत बताउँछ। स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमै केही नयाँ व्यक्तिहरुको संलग्नता खुलिसकेको छ।

अग्रवाल चाँदी तस्करीमा समेत संलग्न
अग्रवालको घरबाट ठूलो मात्रामा चाँदीसमेत बरामद भएको सहसचिव पौडेलले बताए। ‘चाँदीका ढिक्का, सिक्का, बिस्कुट बरामद भएको छ। एउटै ढिक्का डेढ केजीसम्मको बरामद भएकाले उनी चाँदीको तस्करीमा समेत संलग्न रहेको खुलेको छ,’ उनले भने।

उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएकाले नगद तथा गाडीहरु बरामद गरिएको समितिले जनाएको छ।

समितिले सो प्रकरणमा अन्तिम चरणको अनुसन्धान गरिरहेको छ। अग्रवालबाट बरामद कागजपत्रबाट गिरोहका माथिल्लो तहका व्यक्तिहरु संलग्न हुन सक्ने समितिका अधिकारीहरु बताउँछन्।

बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफूहरु तस्करीमा संलग्न ‘ठूला माछा’को नजिक पुगेको बताएका थिए। स्रोतका अनुसार तस्करी गिरोहमा केही अवकाशप्राप्त प्रहरीको समेत ‘लिंक’ भेटिएको छ।

नेपाल लाइभबाट

काठमाडौं- २०६२ जेठ २३ मा चितवनको गोविन्दबस्ती बगई (माडी) बाट भरतपुरका लागि छुटेको यात्रुबसमा तत्कालीन विद्रोही माओवादीले बाँदरमुढेमा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यो घटनामा घाइते भएका ७२ मध्ये ४ जनाको पछि उपचारका क्रममा निधन भएको थियो। घटना गराउने माओवादी युद्धपछि शान्तिमा आई विभिन्न दलमा विभाजित हुँदै मूल हाँगो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ। तर, १३ वर्ष बितिसक्दा समेत उक्त घटनाबारे सत्य-तथ्य छानबिन भई दोषीले सजाय पाएका छैनन्।

पूर्व माओवादीका अध्यक्ष एवं नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत निर्वाचनको समयमा बाँदरमुढे घटना ‘जनयुद्ध’मा भएको सबैभन्दा ठूलो गल्ती भन्दै बाँदरमुढेका जनतासँग माफी मागे। उनले चितवनमा आफू निकट पार्टीका कार्यकर्तालाई जम्मा गर्दै आफ्नो सरकार बने लगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने सहमती पनि गरे।

दाहालको उक्त सहमतिपछि पीडितहरु दुई धारमा विभाजित भए। उनले न्याय र पीडितलाई परिपूरण दिने कुरा लिखित प्रतिबद्धतामै उल्लेख गरे। तर, उनले निर्वाचन जितेर काठमाडौं आएको पनि ६ महिना बितेको छ। उनी नै अध्यक्ष रहेको नेकपा सरकारमा छ।

यसैबीच, माघ ११ मा तत्कालीन शेरबहादुर देउवा सरकारले बाँदरमुढे घटनामा मृत्यु भएका सबैलाई सहिद घोषणा गर्‍यो। तर, सहिद मात्र नभई उक्त घटनाका दोषीलाई सजाय गर्ने र पीडित परिवारलाई न्याय दिने कुरा हालसम्म नभएको बाँदरमुढे घटना पीडित संर्घष समितिका उपाध्यक्ष कृष्ण अधिकारी बताउँछन्।

निर्वाचन नताका प्रचण्डको सहमतिमा सहभागी भएका एक पीडित सुदीप निउरेले उक्त घटनामा ज्यान गुमाएकी आफ्नी दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटालाई सम्झँदै माओवादीले धोका दिएको बताए।

‘जुन माओवादीको समूहले पीडित र माओवादीको केन्द्रीय तहबीच सिधा वास्तविक कुरा राख्न १३ वर्षदेखि रोकेको थियो अहिले फेरि उही समूह अहिले सक्रिय छ,’ उनले सामाजिक सञ्चालमा समेत लेखेका छन् ‘निर्वाचनको समयमा सहमती गराउने प्रयास गरेकोमा म आफू दुरुपयोग भएको अनुभव भएको छ।’

उपाध्यक्ष अधिकारीले सर्वसाधारण चढेको बसमा विस्फोट गराई सामूहिक हत्या गराउनेको पहिचान गरियोस् र उनीहरूमाथि कानुनी कारबाही होस् भनी आफूहरुले सामूहिक रुपमा काठमाडौंमा दिएको उजुरी बेवारिसे भएको बताए। युद्धमा सहभागी नभएका सर्वसाधारणलाई किन मारिएको हो, त्यसको सत्य जान्न पाऊँ भन्दाभन्दै यत्तिका वर्ष बितेको तर पनि केही नपाएको उनले गुनासो गरे।

सर्वसाधारण चढेको बसमा बम विस्फोट गराई हत्या गर्ने माओवादी कार्यकर्ता र आदेश दिने माओवादी नेतालाई समेत कारबाही माग गर्दै बाँदरमुढे पीडित संघर्ष समितिले ५७ वटा उजुरी दर्ता गराएका थिए।

स्थानीय शान्ति समितिको कार्यालय चितवनमा उजुरी दर्ता गराउँदा असुरक्षा महसुस भएर उनीहरुले आयोग केन्द्रीय कार्यालयमा उजुरी गरे पनि अहिलेसम्म आउँदा न्याय पाउने आस नरहेको अधिकारीले बताए।

पीडितको उजुरीमा माओवादीका तत्कालीन अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, वनमन्त्री शक्ति बस्नेत लगायत तत्कालीन नेतृत्व र चितवनका नेतालाई कारबाही माग गरिएको छ।

बम विस्फोटमा संलग्न भएको आरोप लागेका अनक मगर शान्ति समितिमा सदस्य हुनेदेखि पार्टीको पहुँचको स्थानमा रहेको भन्दै विभिन्न समयमा सहमति र माफी मागेर माओवादीले नाटक गर्दै पीडितलाई धोकामा राख्ने गरेको बताए।

घटनाको समय जिल्ला इन्चार्ज रहेका घनश्याम दाहाल शान्ति समिति सदस्य भएका थिए। तर, पीडितहरुको विरोधपछि उनले राजीनामा दिएका थिए। त्यसपछि सदस्य बनेका मगरमाथि पनि विस्फोट कार्यमै संलग्न भएको आरोप छ।

अधिकारी भन्छन्, ‘दलहरूको रवैया र आयोगको काम गराई हेर्दा न्याय पाउने आशा त छैन, तर आफूमाथि भएको अन्यायमा कसरी चुप लागेर बस्नु र? यही कुराले पिरोलिरहन्छ।’

२०६२ जेठ २३ को बिहान भिख्नाठोरीबाट छुटेको शालीग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब १ सय २० यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध बसभित्र थिए भने करिब ५०-६० को हाराहारीमा यात्रु छतमा थिए। २१ वर्षीय विक्रम महतोले चलाएको उक्त बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धरापमा परेको थियो।

गाडीको छतमा तीनजना बर्दीधारी सैनिक बसेका थिए, बाँकी सबै सर्वसाधारण थिए। त्यतिबेला चितवनका जिल्ला इन्चार्ज अविनाश (घनश्याम दाहाल) र सेक्रेटरी इन्द्रजित (यमबहादुर परियार) ले गलत आँकलन गरी विस्फोट गराएको माओवादीले समेत स्वीकार गर्दै आएको छ।

गुडिरहेको गाडीमा विस्फोट गराएर एक-दुई जनाको मात्र सफाया गर्ने र बाँकी सकुशल रहने प्रविधिको विकास संसारमा कहीँ नभएकाले त्यसलाई स्वीकार गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माओवादीले सहयोग गर्नुपर्ने तर्क मानवअधिकारवादीले गर्दै आएका छन्। हतियार बोकेकै भए पनि दोहोरो भिडन्तमा नरहेका व्यक्तिलाई हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन विपरीत माडीमा बम विस्फोट गराइएकाले दोषीले उन्मुक्ति पाउन नहुने अधिकारकर्मीहरुको तर्क छ।
नेपाल लाइभबाट

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *