एमालेका २४ राष्ट्रघाती अपराधहरू – सबैले बुझ्नैपर्ने : शेयर गर्नुहोस

वाम गठबन्धनको रमिते उत्सवमा रमाई रहेको नेकपा एमाले अहिले दुई तिहाई बहुमत प्राप्त हुने दिवास्वप्न देख्दै सत्ता रसास्वादनको बाक्लो र्‍याल काढेर बसेको छ । यो बामपन्थी गठबन्धनको नैतिक, व्यवहारिक र शैद्धान्तिक आधार के हो ? भन्नेबारे नेकपा एमाले मात्रै नभएर बाम गठबन्धनमा सामेल भएका सबै राजनीतिक दल जिब्रो चपाएर कुरा गरिरहेका छन् । अध्यारो कोठामा किर्ते जालसाजी गरेझैं लाग्ने गरि लुकेर छिपेर गरिएको बाम गठबन्धनको सातबुँदे तमसुकमा सहीछाप धस्काएर ताई न तुँईका गफ छाट्ने बाम गठबन्धनमा सामेल नाईकेहरूले पार्टीका वरिष्ठ नेताहरूलाई छड्के किनाराको साक्षी राख्न समेत पत्याएन ।

संचार माध्यम मार्फत सार्वजनिक भएको र विशेष गरि वाम गठबन्धनको गोप्य मतोलाई सफल बनाउन निर्णायक भूमिका खेल्ने एमाले नेता बामदेव गौतमको अनुहारमा देखिने कुटिल मुस्कानको कुरा गर्दा केही वर्ष अघि खुल्लामञ्चबाट नेकपा मालेको झण्डामुनि बसेर बामदेव गौतमले एमालेलाई भ्रष्टहरूको पार्टी भनी लगाएको आरोप अझै पनि ताजा झैं लाग्छ । एमाले सदाचारी पार्टी भएको हो वा बामदेव गौतमले भ्रष्टाचारलाई आत्मसात गरेका हुन् भन्ने कुरा यिनिहरूले भन्न सकिरहेका छैनन् ।

हाल बाम गठबन्धनको कर्मकाण्डी तालमेल भैरहँदा नेकपा माले सम्बद्ध क्रान्तिकारी युवा समूहका तर्फबाट योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले २०५५ सालमा एक पुस्तक लेखेका थिए । पुस्तकको नाम थियो,‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ हाल वामदेव गौतमका साथै भुषाल, भट्टराई र ढकालले एमालेमा प्रवेश गरेर नेताको हैसियत बनाई सकेका छन् । तर, पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ राष्ट्रघातका आरोप अझै जिउँदै छन् । एमालेले कहिल्यै त्यसको चर्चै गर्दैन । अहिले त्यहि भ्रष्ट नेताहरूसँग कुममा कुम मिलाएर नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हिंडीरहेका छन् । त्यो पुस्तीकाले एमालेको असली अनुहार उदाङ्गो पारेको छ । त्यो पुस्तिकाको सम्पादीत महत्वपूर्ण २४ अंश यस्तो छ ।

१) २००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिष्ट पार्टीको ‘पहिलो पर्चा’ र ‘घोषणापत्र’ मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिष्ट आन्दोलनमा प्रथमपटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले राष्ट्रिय आत्मसमर्पणवादको नीति लियो ।

२) तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन र तत्कालीन नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’ गर्ने लक्ष्यलाई माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली गुटले छैटौं महाधिवेशनमा परित्याग गरी आफ्नो दस्तावेजमा कहींकतै गणतन्त्रको ‘ग’ समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमा समेत एमालेलाई राजावादी कम्युनिष्ट पार्टीमा परिणत गरायो ।

३) प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना गर्न दिइनु हुँदैन भनेर विरोध गरियो, तर सरकारमा जानसाथ मोदनाथ प्रशितको शिक्षा मन्त्रित्वकालमा आफैंले स्वीकृति दिई ४१ लाख रुपैयाँ घूस खाइयो ।

४) तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियम विपरीत गृहमन्त्रालयका लागि गाडी खरीद गरी करोडौं खाएको कुरा लेखा समितिको रिपोर्टमा उल्लेख छ । यसरी ओलीले नौ महिना गृहमन्त्री हुँदा प्रहरी प्रशासन र तस्करहरूको नेटवर्कभित्र पार्टीलाई प्रवेश गरार्ई सुनदेखि चरेशसम्मको तस्करी गर्ने, गराउने काम गरे ।

५) छैटौं महाधिवेशनको भिडिओ क्यासेट कार्यकर्तालाई थाहै नदिई एमाले नेताहरूले अमेरिकी खुफिया एजेन्सी ‘सिआईए’ लाई सुटुक्क दिई साम्राज्यवादी अमेरिकाको निर्देशन पालना गरे ।

६) छैटौं महाधिवेशनको लेखाको हिसाबमा एक करोड एकचालीस लाख रुपैयाँ बेरुजु देखिन्छ । कार्यालय र आर्थिक फाँट हेर्ने जिम्मा लिएका माधव नेपाल, प्रदीप नेपाल, युवराज ज्ञवाली र इश्वर पोखरेलले उक्त रकम हिनामिना गरे ।

७) राज्यद्वारा जनताको जनस्वास्थ्यको ग्यारेन्टी गर्नुपर्नेमा जनताको सेवा गर्ने वीर अस्पतालका लागि जापानले दिएको १० करोड रुपैयाँ अनुदान रकम स्वास्थ्यमन्त्री भरत प्रधानले आफ्नो काठमाडौं मोडेल अस्पतालमा लगानी गरे ।

८) हालै चुनावी सरकारका नाममा नेपाली काँग्रेसको पुच्छर समाएर वैतरणी तर्न बिनासर्त सरकारमा सामेल भएको एमालेका बन्दुके मन्त्री भीम रावलले चुनावी खर्च जुटाउन बिना टेन्डर चाइना साउथ एयरलाइन्ससँग प्रति उडान घण्टा २ हजार ५ सय ५० डलरमा प्राप्त हुने हवाइजहाजलाई ३ हजार १ सय ५० डलरमा एक वर्षका लागि सम्झौता गरी १४ करोड रुपैयाँ कमिसन खाए । उक्त कुराको विरोध गर्ने पाइलटहरूलाई हडतालमा उत्रिन बाध्य पारेर मुलुकको ५० औं करोड रुपैयाँ नोक्सान पारे । स्वाभिमानी पाइलटहरूलाई पञ्चायती कानुन प्रयोग गरी कार्बाही गरे ।

९) मदन भण्डारी र जीवराज आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गरे ।

१०) मनमोहन अधिकारी र माधवकुमार नेपालले पुँजीवादी राष्ट्रसामू अनुदान र भिक्षाको खातिर बारम्बार ‘हामी कम्युनिष्ट होइनौं’ भनेर पार्टी र कम्युनिष्टप्रेमी नेपाली जनताको बारम्बार उपहास गरे ।

११) निजीकरण र उदारीकरणलाई प्राथमिकता दिने एमालेले कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्न सुशील प्याकुरेलजस्ता अमेरिकी सिआइएका एजेन्टलाई काँधमा बोकेर पार्टीभित्र एनजिओ र आइएनजिओलाई चलखेल गर्न दिए । विश्वकै मुक्तिकामी जनताको मुख्य दुश्मन साम्राज्यवादीहरूको नाइके अमेरिकाद्वारा सञ्चालित इन्सेकले पार्टी नेतृत्वलाई सञ्चालन गर्‍यो ।

१२) महाकली सन्धि दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरीद गर्छु भनी खड्गप्रसाद शर्मा ओलीले ५ करोड रुपैयाँ माग गर्नेजस्ता घृणित कार्य गरे । महाकाली सन्धि दुवै सदनबाट पारित गराउनका लागि २०५३ भदौ ३ गते भारतीय राजदूतको शरणमा सांसद र केन्द्रीय सदस्यलाई माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओलीले भोज खुवाउन लगे ।

१३) सरकार टिकाउने खेलमा गुरु बराल र सुबोध प्याकुरेलमार्फत साँढे सत्र केजी हजार/हजारका नोट माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओलीले उमेश गिरीलाई खुवाए ।

१४) अनेरास्ववियुले तस्करहरूको नाम सार्वजनिक गरेपछि तस्करमा नामांकित व्यापारीहरूले एमालेलाई आर्थीक सहयोग बन्द गर्ने धम्की दिए । त्यसपछि,‘केटाहरूले त्यसो गरेछन्, दुःख नमान्नु होला, आइन्दा यसो गर्दैनौ’ भनी तस्करहरूसँग माफी माग्ने काम भयो ।

१५) एमालेको नौ महिने शासन कालमा पर्यटनमन्त्री बनेका भीम रावलले जफ्फर अहमद र टासि लामालाई ऊन तथा गलैंचा विकास बोर्डमा ल्याउँदा अठहत्तर लाख रुपैयाँ नजराना लिए । निजहरूको कार्यकालमै भर्ना र राजनीतिक नियुक्तिमा समेत घूस लिने कामको सुरुआत गरेर भ्रष्टाचार गरी कम्युनिष्ट आचरण समाप्त पार्ने कार्य सुरु गरियो ।

१६) एमालेको नौ महिने शासनकालमा सञ्चारमन्त्री बनेका प्रदीप नेपालले ताइवानी टेलिफोन सेट खरीद गरी सन्ताउन्न लाख रुपैयाँ कमिसन कुम्ल्याएर त्यही सेटमा जर्मनी स्टीकर टाँसी पुनः लाखौं रुपैयाँ भ्रष्टाचार गरे । (यस सम्बन्धमा दूरसञ्चारबाट वितरित टेलिफोन सेटको पछाडिपट्टी टाँसेको स्टीकर हेरे थाहा हुन्छ)।

१७) काँग्रेसी सरकारले दिनेश धमिजालाई आरएनएसीको युरोपको २ वर्षका लागि दिएको जिएसएबाट संस्थानलाई ठूलो घाटा भएको थियो । पछि भीम रावल मन्त्री बनेपछि मुद्दा मिलापत्र गराउने नाममा ६ करोड घूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नुपर्ने पारी संस्थानलाई डुबाई सो रकम पनि पार्टीमा नबुझाई महासचिव माधव कुमार नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरे ।

१८) तत्कालीन पर्यटनमन्त्री भीम रावलले माधव कुमार नेपालको निर्देशनमा नेपालका तीनवटा हिमशिखर आरोहण गर्ने नाममा त्यहाँ अत्याधुनिक उपकरण जडान गरी अमेरिकी साम्राज्यवादलाई चीनविरुद्ध जासुसी गतिविधि सञ्चालन गर्न चारलाख अमेरिकी डलर कमिसन खाई अमेरिकी गुप्तचर संस्था (सिआइए) लाई स्वीकृति दिई साम्राज्यवाद र प्रभुत्ववादको निर्देशनमा चीनविरोधी क्रियाकलाप गर्ने वातावरण मिलाइदिए ।

१९) हुलासचन्द गोल्छाले विभिन्न प्रयोजनका लागि बैंकिङ कार्यगर्दा नेपाल सरकारलाई तिर्न बाँकी रहेको व्याज रकम दस करोडमध्ये एक करोड घूस लिई अर्थमन्त्री भरतमोहन अधिकारीले तीन करोड मिनाहा गराई राष्ट्रको राजस्वमा घाटा पुर्‍याए ।

२०) उपप्रधानमन्त्री माधवकुमार नेपाल जापानको मैत्रीपूर्ण भ्रमणमा गएको बेला चालीस करोडको कुहिएको चामल स्वदेश (नेपाल) भित्र्याई ४ करोड कमिसन खाए । सोही भ्रमणमा जापानबाट प्राप्त ८० लाख रुपैयाँ पर्ने हीराको हार राष्ट्रको ढुकुटीमा जम्मा गर्नुपर्नेमा निजी बनाई बिक्री गर्न खर्च दिई विदेश पठाउने काम गरे ।

२१) नेकपा एमालेको नौ महिने शासन कालका प्रधानमन्त्री मनमोहन अधिकारी समक्ष तत्कालीन कानुनमन्त्री सुवास नेम्वाङ र अर्थमन्त्री भरतमोहन अधिकारीले मोहनगोपाल खेतानले विदेशी मुद्रा विनिमय नियमविपरीत काम गरी हङ्कङ्को इन्डोवेज बैंकमा जम्मा गरेको ने.रु. १९ करोड ३९ लाख ७ हजार रकम अपचलन गरेकोमा कानुनतः ३ वर्ष कैद र सम्पूर्ण रकम राष्ट्रियकरण हुनेमा अर्थमन्त्री भरतमोहन अधिकारी र कानुन मन्त्री सुवास नेम्वाङको सिफारिसमा प्रधानमन्त्री मनमोहन अधिकारीको क्याबिनेट बैठकद्वारा अदालतको मर्यादा र कानुनविपरीत मुद्दा फिर्ता गराउने काम गरी दुइ करोड रुपैयाँ नजराना लिई जनता र राष्ट्रमारा काम गरे ।

२२) दुइ सय किलो चरेशसहित अमेरिकामा गिरफ्तार भएका ससुराको कारोबारमा एमाले स्थायी समितिका सदस्य इश्वर पोखरेल संलग्न भएको कुरा खुल्यो । इन्टरपोलले इश्वर पोखरेललाई गिरफ्तार गर्न आदेश दिएपछि खड्ग प्रशाद ओली र माधवकुमार नेपालले प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलमार्फत इश्वर पोखरेललाई कारबाही हुनबाट बचाई अवैध लागुऔषध कारोबारलाई प्रश्रय दिए ।

२३) टनकपुरको राष्ट्रघातलाई वैधानिक मान्यता दिने ‘महाकाली प्याकेज’ को अवधारणा ल्याई राष्ट्रियता जस्तो संवेदनशील विषयसँग भारतीयहरूको वचनको पक्का देखिन १ खरब २० अरव वर्षेनी आम्दानी हुने र सेटेलाइटबाट विदेशीलाई बिजुली बेच्नेजस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्क्याउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरियो ।

२४) मदन भण्डारी र जीवराज आश्रितको हत्याकाण्डमा संलग्न भएको भनी आशंका गरिएका राजेन्द्र खेतानसँग विद्या भण्डारीको सुमधुर सम्बन्ध कायम भयो । खेतानकी ‘माता’ बनेकी विद्या भण्डारीको औकातमा एक्कासी वृद्धि भयो र विद्या भण्डारीले माताजीको नामबाट राजेन्द्र खेतानसँग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन् ।

मिडिया डबलीबाट साभार

……………………. …………….

यो पनि पढ्नुहोस

उज्जन श्रेष्ठकी आमा रुँदै भन्छिन् – छोराको गल्ती नभई किन मार्‍यो ? यो सरकारले भन्दिनुपर्छ

काठमाडौं – गणतन्त्र दिवसको अवसरमा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल रिहा भई अबिरमाला लगाएर भाषण गरिरहँदा उज्जन श्रेष्ठकी ८३ वर्षीया रामकुमारी श्रेष्ठ आँसु बगाइरहेकी थिइन्।

आफ्नो छोराको हत्यामा संलग्न दोषीलाई राज्यले कैद माफी दिएर छोडेपछि उनी निकै चिन्तित देखिइन् । राज्यले न्याय खोसेकाले अर्को न्याय माग्ने ठाउँ देखाउन उनले माग गरिन् । ‘मेरा छोराहरुको गल्ती के थियो र मारियो’, उनले भनिन्, ‘न्याय खोज्ने ठाउँ देखाउनुस्, हामी जान्छौं।’

‘राज्यले जे गरे’नि हुने र’छ । सामान लिन बजार ग’को छोरा मारेका थिए । धानको बिटो लाउँदालाउँदै अर्को छोरो मारिएको थियो’, उनले रुँदै थपिन्, ‘सरकार यस्तो छ, कसरी खप्ने !’ २०५५ असार १० मा दुईजना भरियासहित बजारमा सामान लिन जाँदा उनका छोरा उज्जन मारिएका थिए । छोरा मारिएपछि किटानी जाहेरी दिएर न्याय माग्न हिँडेको चार वर्षपछि अर्का छोरा गणेश पनि मारिएका थिए । गणेश घरमा धानको बिटो लगाउँदै गर्दा मारिएका थिए ।

द्वन्द्वकालमा दुई छोरा गुमाएकी रामकुमारीले छोरा मार्नेहरु गाउँघरवरिपरिकै भएको बताइन् । ‘मेरा छोराको गल्ती नभई किन मार्यो ? यो सरकारले भन्दिनुपर्छ’, उनले भनिन् । नागरिकसँगको भेटमा उनी निकैबेर डाँको छोडेर रोइन्।

ढुंगेल जेलबाट मुक्त भएपछि श्रेष्ठको लाजिम्पाटस्थित घर पुग्दा चारजना एकल महिला निन्याउरो अनुहारमा बसिरहेका थिए । राज्यले आफ्नो पतिका हत्यारालाई कैद सजाय माफी दिई पीडा उज्जनकी पत्नी लक्ष्मीमा छर्लंगै देखिन्थ्यो ।

उनले न्यायको अनुभूति गर्न नपाएको गुनासो गरिन् । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादी र सेनाले घरमा आएर गरेको दुव्र्यवहार उनले भुलेकी छैनन् । उनले द्वन्द्वको समयमा घर, खेतबारी कब्जा गरिएको सम्झिन् । ‘माओवादी पाल्छस्’ भन्दै तत्कालीन सेनाले घरमा बम पड्काएको, गालामा थप्पड हानेको उनलाई हिजैजस्तो लाग्छ । द्वन्द्वको समयमा दुवै पक्षबाट सताइएकी लक्ष्मीले पति नै गुमाउनुपरेको थियो ।

आफ्ना पतिलाई मार्न संलग्नलाई सजाय माफ हुँदा उनलाई मनमा निकै डर लागेको छ । जेल पर्नुअघि सार्वजनिक रुपमै भाषण गर्दा ढुंगेलले दिएको धम्की बिर्सेकी छैनन् । उनले आफ्नो जीउधनको सुरक्षा दिन सरकारलाई भनिदिन समेत आग्रह गरिन् । ‘भुइँचालोले भत्केको घर बनाउँदैछु । अब कसरी गाउँ जाने, मलाई डर लागेको छ’, लक्ष्मीले भनिन्।

घटना येस्तो थियो

श्रेष्ठ परिवार ओखलढुंगा कोकनीमा कुटानीपिसानी मिलसाथै पसल गरेर बसेको थियो । उज्जन श्रेष्ठ पर्यटन क्षेत्रको काममा संलग्न थिए र दिदी सावित्री श्रेष्ठसँगै काठमाडौं बस्थे ।

असारको समय रोपाइँको बेला थियो । बुबालाई प्यारालाइसिस भएपछि सघाउन उज्जन काठमाडौंबाट घर गएका थिए । २०५५ असार १० मा उनी सामान लिन दुईजना भरियासहित रामेछाप हाटबजार जाँदै थिए । उनको बाटोमै हत्या भएको थियो।

भाइको हत्या खबर थाहा पाएपछि सावित्री घर पुग्दा आमा बेहोस थिइन् । भाइको अत्तोपत्तो थिएन । घटनास्थलमा रगतको टाटा देखिएको खबर पाएकी उनले भाइको आस मार्न सकिनन् । उज्जन हराएको सात दिनपछि प्रहरीले ‘जिउँदो छैन’ भनिदियो, परिवारले काजकिरिया सुरु गरे । त्यसपछि परिवार छिन्नभिन्न बन्यो ।

परिवार ओखलढुंगाबाट रामेछाप विस्थापित भयो । दुईजना भरियाले गाउँकै चिनजानेको व्यक्तिले हत्या गरेको देखेका थिए । हत्यापछि सावित्रीका दाजु गणेशकुमार श्रेष्ठले प्रहरीमा किटानी जाहेरी दिए ।

सावित्री भाइका हत्यारा आँखैअगाडि छाती फुलाएर हिडिरहँदा पीडा आँसुमा बगाउँथिन् । किटानी जाहेरी दिइएका हत्यारा लुकेर बसेको खबर प्रहरीसमक्ष पुर्याउँदा पनि पक्राउ गरिएन । उनले भनिन्, ‘हत्याराहरु बसेको ठेगाना दिँदा समेत प्रहरीले समाउन सकेन ।’ मुद्दा दर्ता गराएपछि गणेशलाई धम्की आउन थाल्यो । धम्की आएपनि दाजुबहिनी उज्जनका हत्यारालाई सजाय दिलाउने अठोटबाट डगमगाएनन्।

२०५९ मंसिरमा गणेश घरको पछाडिपट्टि धानको बिटा बाँध्दै थिए । गणेशकी छोरी रञ्जना सात कक्षा पढ्दै थिइन् । बुबाको साथी भएको बताउँदै अपरिचितले रञ्जनासँग सोध्यो, ‘तिम्रो बुबा खोइ ?’ उनले सत्य कुरा बताइन् । अपरिचित व्यक्तिलाई काम गर्दै गरेका बुबा देखाइदिन गइन् । साथी भनिएको व्यक्तिले छोरीकै अघि बाबुलाई गोली हानी मारिदियो । रञ्जना बेहोस भइन् ।

श्रेष्ठ परिवारमा अर्को बज्रपात भयो । परिवारमा एकपछि अर्को विपत्ति थपिँदै गयो । रञ्जनाले जेनतेन एसएलसी पास गरिन् । बुवालाई आँखैअघि गोली हानिएको दृश्यबाट मर्माहत रञ्जनाले तीन वर्षपछि आत्महत्या गरिन् ।

२०५९ मंसिरमा गणेश घरको पछाडिपट्टि धानको बिटा बाँध्दै थिए । गणेशकी छोरी रञ्जना सात कक्षा पढ्दै थिइन् । बुबाको साथी भएको बताउँदै अपरिचितले रञ्जनासँग सोध्यो, ‘तिम्रो बुबा खोइ ?’ उनले सत्य कुरा बताइन् । अपरिचित व्यक्तिलाई काम गर्दै गरेका बुबा देखाइदिन गइन् ।

साथी भनिएको व्यक्तिले छोरीकै अघि बाबुलाई गोली हानी मारिदियो । रञ्जना बेहोस भइन् । श्रेष्ठ परिवारमा अर्को बज्रपात भयो । परिवारमा एकपछि अर्को विपत्ति थपिँदै गयो । रञ्जनाले जेनतेन एसएलसी पास गरिन् । बुवालाई आँखैअघि गोली हानिएको दृश्यबाट मर्माहत रञ्जनाले तीन वर्षपछि आत्महत्या गरिन् ।

अदालतमा सावित्रीको ११ बर्ष

दाजुसमेत मारिएपछि पनि सावित्रीले हिम्मत हारिनन् । उनी लगातार १९ वर्ष न्याय माग्न जिल्ला अदालतदेखि सर्वोच्चसम्म धाइन् ।बालकृष्ण ढुंगेललाई २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनायो ।

जिल्ला अदालतको फैसला तत्कालीन पुनरावेदन अदालत राजविराजले उल्टाइदियो । फेरि सर्वोच्च अदालतमा पुनरावेदन पर्यो । २०६६ सालमा सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गर्यो।

सर्वाेच्चले गत कात्तिकमा एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि बल्ल उनी पक्राउ परे । ढुंगेललाई कात्तिक १४ मा पक्राउ गरी डिल्लीबजार जेल चलान गरियो । ज्यानमुद्दाका दोषी ढुंगेललाई कारागार नियमावलीमा टेकेर सरकारले बाँकी कैद मिनाहा गरेको छ।

ढुंगेल गणतन्त्र दिवसको अवसरमा जेलमुक्त भइसकेका छन् । सर्वोच्चको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि सजाय मिनाहा गर्न नमिल्ने फैसला गरेको थियो ।

– नागरिकन्युजबाट लिइएको यो खबर भाषा शर्माले लेखेकी हुन्।

प्रकाशित मिति : २०७५ जेठ १६,बुधबार

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *